लामो समय पछि गत बैशाख ३१ गते सम्पन्न स्थानिय तह निर्वाचन २०७४ को मत गणना भई सकेपछि राजनितिमा लागेका केही आशा लाग्दा युवाहरु उही पुरानै नेताहरुसँग पराजित भए । २०५४ सालमा पनि उम्मेद्वार भएका केही ब्यक्तिहरुले यसपालिको स्थानिय तह को निर्वाचनमा बाजी मारे भने केही पराजित पनि भए । तर औलामा गन्न सकिने संख्यामा केही युवाहरु राजनितिमा आएको समेत पाइयो ।
हामीले निर्वाचन सम्पन्न भै सके पछि युवा नेता र पुराना नेताहरुमा धेरै फरक पाएको महशुस भएको छ । केही पक्षहरुमा पुराना नेताहरु अनुभबी त होलान् तर युवाहरुमा जस्तो जोश र जाँगर भने नहुदो रहेछ । कति नेताहरु त झन् आफ्नो ब्यक्तिगत कुरामा समेत ध्यान पु¥याउन अयोग्य नै रहेका छन् । आफ्ना ब्यक्तिगत बोलाई, लगाई र भाषणकला नभएका वडाध्यक्ष र वडासदस्यहरुलाई आगामी निर्वाचनमा मतदाताले पत्याउन गाह्रो छ । किनकी आजका मतदाताहरु धेरै एडभान्स भैसकेका छन् । अवको पाँच वर्ष पछि हुने निर्वाचनका लागी काम सँगै ब्यक्तिगत कुरामा समेत सचेत रहेको ब्यक्ति मतदाताको नजरमा पर्ने निश्चित छ ।
मत गणना भएर निर्वाचित, अधिकांश जनप्रतिनिधिहरुले आफ्नो कुराहरु स्पष्टसँग राख्न नसक्ने रहेको पाइयो । ब्यक्ति भन्दा पनि सँगठन बलियो भएकै आधारमा तुलनात्मक रुपमा अयोग्य ब्यक्तिहरु विजयी हुदा समग्र वडा र नगरलाई प्रभाव पुग्छ । मतदाता र समर्थकले समेत गर्वको महशुस गर्ने वातावरण बन्दैन ।
भनिन्छ नि “बोल्नेको पिठो पनि विक्छ नवोल्नेको चामल पनि बिक्दैन ।” त्यसैले आजको समयमा काम मात्र गरेर पुग्दैन राम्रो वाक–कलाको पनि जरुरी रहेको छ । जनप्रतिनिधि भै सके पछि जनताको सानो वा ठुलो कार्यक्रमहरुमा अतिथि बनेर जान इच्छुक हुने, निमन्त्रणा नगरिए वा गर्न छुटेको खण्डमा सानो सोच बनाएर बस्ने र उपस्थित भएको खण्डमा आफुले के बोलियो र सञ्चार माध्यममा किन आउन सकेन भन्ने विश्लेषण गर्नुको सट्टा रेडियो र पत्रिकामा मेरो नाम छुट्यो भन्ने नेतृत्वबाट हामीले के आशा गर्न सक्छौ ?
नेतृत्वमा रहेका वा कुनै पनि कार्यक्रममा अतिथि बनेर जाने ब्यक्तिले कुन र कस्तो कार्यक्रममा सहभागी हुदै छु र के विषयमा बोल्ने र कुन पक्षलाई प्राथमिकता दिएर बोल्ने ? भन्ने कुरामा सामान्य अध्ययन गरेर नबोल्दा भाषण प्रभावकारी हुदैन र सञ्चार माध्यमहरुले पनि विषय बस्तु भन्दा परका भाषणलाई समाबेश गर्नु उचित ठान्दैनन् । त्यसैले जनताको नजरमा पर्ने गरि, सञ्चार माध्यमले प्राथमिकता दिने गरि विषयलाई समेट्न सक्ने गरि कार्यक्रममा उपस्थित हुन जान्ने आज युवा नेताहरु नै छन् ताकी पुराना नेताहरुसँग बोल्ने समेत जाँगर नभएको जस्तो देखिन थालेको छ ।
“कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको” भने जस्तै युवा अवस्था पार गरेका ब्यक्तिहरुको अनुभव र सल्लाहलाई आत्मासात गरि युवा वर्ग नेतृत्वमा आउनु आजको आवश्यकता हो ।
युवाहरुलाई नेतृत्वमा ल्याउन सके उनीहरुको जोश र उमेरले साथ दिए सम्म अझ प्रगति गर्ने लोभले पनि धेरै कार्यहरु हुनेछन् । उनीहरुसँग युवाको जमात हुन्छ जस्ले समाज परिवर्तनको लागी अहम् भूमिका खेल्न सक्छ । पारिवारिक झमेलामा त्यति अभ्यस्त हुदैन र आर्थिक पक्षमा तुलनात्मक रुपमा कम लालच हुन्छ । त्यसैले भ्रष्टचार कम हुन्छ । युवाहरु जुनसुकै समयमा पनि हरेक ठाउँमा उपस्थित हुन सक्छन् उनीहरुलाई स्वास्थ्यले समेत साथ दिने भएकाले ठिक समयमा काम हुने, विकास निर्माणमा आफै उपस्थित हुन सक्छन् जस्को प्रत्यक्ष फाइदा जनताले लिन सक्छन् ।
त्यसो त “पढेकाहरु भन्दा पनि परेकाहरु धेरै अनुभवी रहेका हुन्छन्’ तर अनुभव भएको भन्दैमा आफैले नेतृत्व गर्नु पर्छ भन्ने पनि हुदैन । आफुसँग भएको अनुभव र युवाहरुको जोस र जाँगरलाई संयोजन गर्नु पर्ने समय आएको छ । युवाहरुमा पनि नेतृत्व पाउनु पर्छ भन्ने इच्छा, शक्ति हुनु जरुरी छ र आफ्नो योग्यतालाई पनि निखार दिनु पर्ने आवश्यकता पनि उत्तिकै हुन्छ । तर नेतृत्व आफ्ना पक्षमा आएको खण्डमा समेत आफुलाई नै सर्वैसर्व ठान्नु गलत हुन सक्छ त्यसैले जोस र अनुभवको संयोजन आवश्यकता पर्दछ ।
देशमा भएको युवाहरुको एक मात्र समस्या बेरोजगारी नै हो तर पनि हामीहरु आफैले योग्यता अनुसार युवाहरुलाई प्राथमिकता दिन सकेनौ भने बेरोजगारी बढ्दै जानुमा दुईमत छैन । सरकार देशभर १० हजार जना युवा मात्र बेरोजगार रहेको दावी गर्दै आएको छ । श्रम विभागले आर्थिक वर्ष २०७३÷०७४ मा सार्वजनिक गरेका तथ्याङ्कमा ९ हजार ८ सय ७३ जना मात्र युवाहरु बेरोजगार रहेको बताएको छ । तर दिनहुँ जसो अनुमानित १ हजार ५ सय जना युवा रोजगारी कै खोजीमा विदेश पलायन हुनु पर्ने बाध्यता हामी समक्ष रहेको छ । बेरोजारहरुको लागी सवै भन्दा ठुलो समस्या त स्थिर सरकार नहुनु नै हो । सरकारले युवाहरुलाई रोजगारी दिने निति लिएको केही महिनामा नै सरकारको आयु समाप्त हुने भएकाले युवा रोजगारीमा कुनै आयाम आउन सकेको छैन । नेपालको सन्दर्भलाई हेर्दा १५ देखि ४० वर्ष उमेर समुहलाई युवा मानिएको छ । यही उमेर समुहका मानिसहरु नेपालमा जम्मा ४० दशमलव ३५ प्रतिशत मात्र रहेका छन् तर पनि उनीहरुमा देशमा केही गर्न नसकिने र विदेशनै पलायन हुने सोचको बिकास भएको पाइन्छ । देशको मुख्य शक्ति युवाको अभावमा ग्रामिण क्षेत्रका खेतबारी बाँझो छ, विदेशी उत्पादनलाई आयात गर्नु पर्ने देशमा बाध्यता छ ।
यता युवाहरुलाई सामाजिक दायित्व बोध कम हुनाले कुलत र गुण्डा गर्दीमा लागेको पक्षलाई अवका दिनमा सोच्नुपर्ने आवश्यकता रहेको छ । युवा वर्ग कुलतमा लाग्ने, मानव बेचविखन गर्ने लगायतका कार्य बेरोजगारकै कारण सिर्जना भएको देखिन्छ । यही हामीले युवाहरुलाई सामाजिक रुपमा प्रतिष्ठित हुने गरि स्थान दिन सक्ने हो भने यी विकृतीहरु बाट समाज मुक्त हुन सक्छ ।
त्यसैले युवाहरुलाई राजनिती वा समाज सेवाको नेतृत्व दिएर देश भित्रै अल्झाउन सके देशकै विकासका लागी कृषि, शैक्षिक, राजनितिक र आर्थिकरुपमा देशले काँचुली फेर्न सक्छ । प्रत्येक नगरपालिकामा युवालाई नेतृत्वमा ल्याउने हो भने भएका वडा र त्यस भन्दा धेरै २ जनाले रोजगारी पाउने छन् । तर अहिलेको स्थानिय निर्वाचन मार्फत चुनिएका अधिकाँश प्रतिनिधिहरु जस्लाई रोजगारीको आवश्यकता छैन तिनै पदमा आएका छन् अधिकाँश ब्यवसायीहरु रहेका छन् भने त्यति नै संख्यामा रिटायर्ड जिवन ब्यतित गरि बसेका ब्यक्तिहरु निर्वाचित भएका छन् । जस्लाई केही सिर्जनात्मक कार्य गर्नको लागी न त समय हुन्छ न त जोश जाँगर नै ? अझ ठुलो कुरा त सिर्जनात्मक कार्यका लागी युवामा हुने सोचनिय शक्ति उमेर ढल्कदै गएका ब्यक्ति सँग हुदैन । जसकारण हामी परम्परा गतरुपमा हुने विकास निर्माणको शैली भन्दा माथि उठ्न सक्दैनौँ ।
त्यसैले टोलको, गाउँको, क्षेत्र, नगर र देशको विकास गर्नको लागी अव सक्षम युवालाई नेतृत्वमा ल्याउनु जरुरी रहेको छ जसको परिणाम स्वरुप देशको समृद्धी सम्भव हुनेछ । उमेर ढल्कदै गएको ब्यक्तिहरुले सल्लाह र सुझाब दिने स्थानमा रहेर सल्लाकारको भूमिका निभाउनु पर्ने अवश्थामा आफै नेतृत्व गरेर अघि बढ्न खोजे दुर्घटना हुन सक्छ वा विकास धेरै दुरीमा अघि बढ्न सक्दैन । त्यसै देशको विकासको लागी कि नेतृत्व त्यागी नयाँ पुस्तालाई हस्तान्तरण गरौँ कि आफुलाई रहेक कुरामा सक्षम राख्ने प्रयत्न गरि जनताको मन जित्न तर्फ लागौँ ।
– लेखक तनहुँ खबर राष्ट्रिय दैनिकका पत्रकार हुन्



ConversionConversion EmoticonEmoticon